
बेसहारा र असहायहरूको साझा घरको रूपमा परिचित कैलालीको सहारा घरको व्यवस्थापनमा सरकारले चासो देखाएको छ । यसको भवन निर्माणका लागी राष्ट्रिय योजना आयोग मार्फत सरकारले चालु आर्थिक वर्षमा १ करोड ५० लाख विनियोजन गरेको छ ।


राष्ट्रिय योजना आयोगको टोलीले गत आर्थिक वर्ष २०७९/०८० मा सहारा घरको अनुगमन समेत गरेको थियो । सहारा घरको १३ करोड लागतको भवनको डिपिआर यस अघि नै निर्माण भइसकेको छ । भने अहिले भवन निर्माणका लागी बर्दगोरिया गाउँपालिकाले टेन्डर समेत निकालेको छ । हाल असहायहरू टिनको छाना मुनी बसिरहेका छन् । भवन निर्माण भए उनीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।
डिपिआर अनुसार सहारा घरको भवन निर्माणका लागी जग्गा पर्याप्त नहुने सहारा घरका सञ्चालक बलबहादुर विष्ट बत्ताउँछन् । “अहिलेको ठाउँ सानो छ । फेरी त्यसमा टिनका छाप्राहरू छन् । अहिले त्यसै मार्फत हामीले सेवा गरिरहेका छौ । यही ठाउँमा भवन बनाउने हो भने यो सबै भत्काउनु पर्छ र व्यवस्थापनमा निकै समस्या आउने देखिन्छ । यसका लागी सरकारको अगुवाइमा अर्को ठाउँमा जग्गा उपलब्ध गर्न पाए निकै सहज हुने थियो ।” उनले भने ।

डेढ करोड सहयोगको हल्ला असत्य

सहारा घरलाई १ करोड ५० लाख सहयोग आएको भन्ने हल्लामा सत्यता नभएको असहायका लागी सहयोगी हातहरू नेपालका अध्यक्ष एवम् सहारा घरका सञ्चालक बलबहादुर विष्टले बताएका छन् । “यो सहयोग होइन सरकारले भवनका लागी बजेट विनियोजन गरेको हो । सहयोगको अर्थ नगद वा जिन्सी लिने भन्ने हुन्छ । त्यत्रो पैसा वा जिन्सी कसले दिन सक्छ र ? सरकारले भवन आफै बनाइ दिने हो । यसलाई सहयोग भन्दा पनि सरकारको दायित्वको रूपमा बुझौँ । डेढ करोड सहयोग आयो भन्ने कुरा लगत हो ।” उनले भने ।

