सुखड। कैलालीको घोडाघोडी नगरपालिकाले यही फागुन १३ गते देखि फागुन २० गते सम्म नगर भित्र दादुरा रूबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार नगरपालिकाको स्वास्थ्य शाखाले ‘पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी’ सम्पन्न गर्दै नगरमा एक हप्ते दादुरा रुबेल खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
बच्चा जन्मेको ९ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने यो खोप निकै महत्वपूर्ण समेत रहेकाले यस अभियानमा सबै सरिक भइदिन नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ। यो रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्ने गर्दछ ।
अभिमुखीकरण गोष्ठीमा प्रस्तुतिकरण दिँदै कैलाश कुमार रावतले घोडाघोडीमा विगतका वर्षमा खोप अभियानमा सरिक भएका र नभएका, कतिले खोप लगाएका कतिले नलगाएका ड्रप आउट भएका सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए । दादुरा रुबेल खोप अभियानमा ड्रप आउटको समस्या रहेको समेत प्रस्तुतिकरण दिँदै रावतले जानकारी दिएका थिए । पहिलो खोप लगाउने र पछि दोस्रो खोप लगाउने बेला त्यसमा सरिक नहुने गरेको पाइएकाले यो एउटा समस्याको रूपमा खडा भएको उनले जनाए ।
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो जुन श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा सङ्क्रमण गर्ने जून फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुने गर्दछ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौँसम्म क्षति दिने पनि जानकारी दिएका थिए ।
बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा रुबेला खोपको २ मात्रा लगाउनु पर्दछ । यो रोग कुनै पनि उमेरका मानिसलाई लाग्ने भए पनि विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने गर्दछ र छिट्टै महामारीको रूप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु सङ्क्रामक रोगहरू हुने सम्भावना पनि बढाउँछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।
यसले घातक परिणाम निम्त्याउन सक्ने साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा सङ्क्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने भएकाले यस अभियानमा सरिक भई खोप अभियानलाई सफल पारिदिन नगर स्वास्थ्य शाखाको अपिल छ ।
घोडाघोडीका १२ ओटै वडाका विभिन्न स्थानमा स्वास्थ्यकर्मी खटाई खोप दिने व्यवस्था मिलाई सकेकाले खोप अभियानमा खोप दिन स्वास्थ्य शाखाबाट कुनै समस्या नहुने समेत बताइएको छ । एक हप्ता सम्म सञ्चालन हुने यस अभियानले नगर भित्र दादुरा रुबेलाको अन्त्यhttps://nirvikpost.com/archives/4548 गरी विशेषगरि बाल मृत्युदर घटाउने यसको मुख्य उद्देश्य रहेको रावतले कार्यक्रममा बताएका थिए ।
यो अभियान निकै निकै महत्वपूर्ण रहेकाले पनि यसलाई सबैले प्रचार प्रसार गरी सहयोग गरिदिन समेत उनको आग्रह थियो । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।