धनगढीः कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साईजको फोटोका आधारमा उनको पहिचान भएको बताए ।
‘झोलामा भेटिएको पासपोर्ट साईजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,’ एसपी बिष्टले भने, ‘अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्र रोड लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।’
मृतक महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् । मापसे गरेको अवस्थामा रिक्सा चलाइरहेका चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले गेटामा पुग्दा तीब्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।
सोही क्रममा आत्तिएर उनले हाम फालेकी थिइन् । अटो चालक र अटोमा सवार उनक साला २३ वर्षीय कालु दमाईलाई प्रहरीले पक्राउ गरेको छ । महिलाले अटोबाट हाम फालेपछि फसिने डरले बयान उनीहरूले दिएका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।