कैलाली : कैलालीको कैलारी गाउँपालिकामा रहेको कोइलही तालको विषयलाई लिएर स्थानीय र ठेकेदार बीच विवाद सिर्जना भएको छ ।
कैलारी गाउँपालिका-९ मा रहेको उक्त तालको पानीका कारण धान बालीमा क्षति पुगेको भन्दै बुधबार स्थानीयले ठेक्का पाएका व्यवसायीले बनाएका टहरा भत्काएपछि विवाद उत्पन्न भएको हो । ताल क्षेत्रमा निर्मित दुई वटा टहरा भत्काउने कार्यमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय हसुलियाले ८ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा बिहीबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका स्थानीय र सुरक्षाकर्मीबीच धकेलधुकुल समेत भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले गाउँपालिकाका अध्यक्षसँग कुराकानी गर्ने भन्दै आएका स्थानीयले जबर्जस्ती कार्यालयभित्र प्रवेश गर्न खोजेपछि सामान्य विवाद भएको बताए । सो क्रममा स्थानीय र प्रहरीबीच आपसमा धकेलधुकुल भएको उनको भनाई छ ।
उनका अनुसार बुधबार स्थानीयले तालमा अनियमितता भएको, ठेकेदारको लापरवाहीका कारण तालको पानीले धान बालीमा क्षति पुगेको भन्दै विरोध जनाउँदै टहरा भत्काएका थिए ।
गाउँपालिकाले उक्त ताल माछा पालन प्रयोजनका लागि ठेक्कामा लगाएको छ ।


