कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ रानीकुण्डामा बस्ती जोगाउन खोलाको धार परिवर्तन गरिएको छ । स्थानीय रानी जरुवा सामुदायिक वनको ३ लाखको लगतमा ४ सय १० मिटर धार परिवर्तन गरिएको वनका अध्यक्ष लालसिंह विश्वकर्माले जानकारी दिए ।
“यो कुइरा खोलाले हामीलाई बर्सेनि समस्यामा पार्ने गरेको छ । हरेक वर्ष बस्ती कटान र डुबानको चपेटामा पर्दै आएका छन् । करिब डेढ सय घरधुरी प्रभावित हुने देखिए पछि हामीले वनकै रकमबाट त्यो खोलाको धार परिवर्तन गरेर बस्ती जोगाउन सफल भएका छौ ।” अध्यक्ष विश्वकर्माले भने ।
वनले सामाजिक उत्तरदायित्व अन्तर्गत बस्तीमा सडक ग्राभेल, विपन्न विद्यार्थीका लागि विद्यालयमा सहयोग तथा आयआर्जनका लागि बङ्गुरका पाठा पाठी वितरण लगायतका कामहरू पनि गर्दै आएको छ ।
वन सँगै वडा कार्यालयले समेत धार परिवर्तनमा जोड दिएको छ । अध्यक्ष विश्वकर्माका अनुसार चालू आर्थिक वर्षमा ३ नम्बर वडा कार्यालयले १ लाख ३० हजारको लागतमा ६० मिटर खोलाको धार परिवर्तन गरेको छ ।


