कैलाली: भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकाता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पाखा लगाएसँगै कोलकाताको प्रतिद्वन्दीकाे। टुङ्गो लागेको हो ।

चेन्नाईमा टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रनकाे चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा ४ छक्का प्रहार गर्दै सर्वाधिक ५० रनकाे अर्धसतकीय पारी खेलेका थिए । त्यस्तै राहुल त्रिपाठीले ३७, ट्राभिस हेडले ३४ रन र शाहबाज अहमदले १८ तथा अभिषेक शर्माले १२ रन जोडेका थिए ।
बलिङ तर्फ राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३/३ विकेट तथा सन्दिप शर्माले २ विकेट लिए ।
१ सय ७६ रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि ध्रुव जुरेलले ३५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवाल ४२ रनमा आउट हुँदा अन्य व्याट्सम्यान भने चल्न सकेनन् ।
हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । कप्तान प्याट कमिन्स र टी नटराजनले समान १ विकेट लिए ।
कोलकाता पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । हैदराबादले पाएको दोस्रो मौकामा फाइनल प्रवेश गरेको हो । राजस्थानले भने क्वालिफायर २ मा पुग्न इलिमिनेटरमा बेंगलूरु माथि जित दर्ता गर्नु परेको थियो ।

फाइनल चेन्नाईमा आउँदो आईतवार हुँदैछ । कोलकाता दुई पटकको उपाधि विजेता हो भने हैदरावादले आईपीएलकाे उपाधि एक पटक मात्रै जितेको छ ।


