काठमाण्डौ: नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको सङ्केत देखाएका छन् । आज ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका हुन् ।
रावलले भने, ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नु भएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ ।’
‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’, उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’
आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरे ।