सुखड : कैलाली र बर्दिया जोड्ने चिसापानी स्थित कर्णाली पुलबाट सोमबार १७ जना युवाले हाम फाले । १७ जना मध्ये हाम फाल्दा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही अझै फेला परेका छैनन् ।
कर्णाली पुलबाट सोमबार दिउँसो १७ जना हाम फालेकामा १६ जना भने सकुशल रहेका र बेपत्ता एक जनाको भने अवस्था हालसम्म पनि अज्ञात रहेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले जानकारी दिए ।
डाँगीले बेपत्ताको खोजी गर्न स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पारीबाट नेपाली सेनाले खोजी कार्य जारी राखेको बताएका छन् ।
होली खेलेपछि कर्णाली पुलबाट एक/एक गरेर १७ जनाले हाम फालेका थिए । हाम फालेकाहरुलाई सम्पर्कमा ल्याउन लागि परेको र हालसम्म एक जना मात्रै सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । इन्स्पेक्टर डाँगीले, ‘भिडियोमा हेरेर पहिचान गरेर सम्पर्कमा ल्याउने प्रयासमा छौं । अबिर लागेका कारण को को हुन भनेर पहिचान गर्न गाह्रो भएको छ ।’
सम्पर्कमा आएका व्यक्तिले होली खेले पछि रमाइलो गर्ने क्रममा हाम फालेको र आफूले एक दुई जनालाई मात्र चिनेको बताएका प्रहरीले जनाएको छ । १६ जना भने सकुशल निस्किए।