इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्सले जित हात पारेका छन् । गएराति सम्पन्न खेलमा राजस्थानले लखनउ सुपर जाएन्ट्सलाई २० रनले पाखा लगाउँदा गुजरातले मुम्बई इन्डियनमाथि ६ रनका रोमाञ्चक जित दर्ता गरेको हो ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यक रहेको थियो । उक्त अवस्थामा मुम्बईका कप्तान हार्दिक पाण्डेयले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे ।
तर त्यसपछिको लगातार दुई बलमा उमेश यादवले हार्दिक र पियुस चावलालाई आउट गरे । त्यसपछि बाँकी दुई बलमा ९ रन चाहिएकोमा मुम्बईले १–१ रन मात्र जोड्न सक्यो ।
मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनर रोहित शर्माले ४३ रन प्रहार गर्दा तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए ।
गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २ विकेट हात पार्दा साइ किशोरले १ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि साई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले ३१ रन जोड्दा राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाएको योगदान गरे ।

बलिङतर्फ मुम्बईका जसप्रित बुम्राहले ३ विकेट लिँदा जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाएन्ट्स माथि २० रनको जित निकाल्यो ।
राजस्थानले दिएको १ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्का सहित ६४ रनको इनिङ खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
यस्तै कप्तान केएल राहुलले ४४ बलमा ४ चौका र २ छक्का सहित ५८ रन बनाए । दीपक हुडाले २६ रनको विष्फोटक इनिङ खेले । अन्य ब्याटर भने चल्न सकेनन् ।
ओपनर क्विन्टन डीककले ४ रन मात्र बनाए । यस्तै देवडट पडीकल शून्यमै आउट भए । आयुष बडोनीले १ र मार्कस स्टोईनिसले ३ रन मात्र बनाए ।
राजस्थानका लागि ट्रेन्ट बोल्टले २ तथा नान्द्रे बर्गर, रविचन्द्रण आश्विन, युज्वेन्द्र चहल र सन्दिप शर्माले समान १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले कप्तान सन्जु सामसनको उत्कृष्ट पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रनको विशाल आँकडा तयार गर्यो ।
सामसनले ५२ बलमा ३ चौका र ६ छक्का सहित अविजित ८२ रनको इनिङ खेले । यस्तै रियान परागले ४३ रन जोड्दा यस्यश्वि जैसवालले २४ रन बनाएर आउट भए । ध्रुव जुरेलले २० तथा जोस बटलरले ११ र शिम्रन हेटमायरले ४ रन जोडे ।
लखनउका लागि नवीन उल–हकले २ तथा मोहसिन खान र रवि विश्ननोईले १–१ विकेट लिए ।
आईपीएल क्रिकेटमा सोमबार एक मात्रै खेल हुने भएको छ । जसमा पञ्जाब किङ्ग र रोयल च्यालेन्जर्स बैङ्ग्लोर भिड्ने खेल तालिका रहेको छ ।

