काठमाण्डौ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । सत्ता गठबन्धन भत्किए लगत्तै
नयाँ सत्ता समीकरणमा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन भन्दै नयाँ सरकार बनाउने तयारी चली रहेको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्रीहरुलाई हटाएर नेकपा एमाले, रास्वपा र जसपाबाट १/१ जना मन्त्री ल्याउने तयारी भएको जनाएको छ ।
रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको बताइएको छ । भने, एमालेका अनुसार प्रमुख सचेतक पदम गिरीले आजै सपथ लिने तयारी भएको छ । यसअघि स्वास्थ्यमन्त्री रहेका गिरीकाे मन्त्रालय भने टुङ्गो लागेकाे छैन । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले मन्त्रीकाे सपथ लिने बालुवाटार स्राेतले जनाएकाे छ ।
जसपाबाट पनि आजै एक जना मन्त्री पठाउने तयारी भएपनि नाम नटुङ्गिएको बताइएको छ। यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र जनमत पार्टीलाई पनि सरकारमा ल्याउन चाहेका जनाएको छ ।
मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईतबार बेलुकी एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरुसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने सङ्केत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए ।
प्रचण्डले नयाँ समीकरण बनाउन खोजेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेर गर्न तयार भएका थिए । आज बिहान गठबन्धनको बैठक पनि बोलाइएको थियो । तर गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण अगाडि भएको नेताहरुले बताएका छन् ।