कञ्चनपुर । ‘चराको स्वर्ग’ भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटमा अवस्थित पुरैनी ताल संरक्षणको पर्खाइमा रहेकाे छ ।
स्थानियबासीले चराको स्वर्ग नामाकरण गरेको उक्त ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका चराहरू हेर्दै मोबाइलमा फोटो खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गरेका छन् । उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि आगन्तुक चराहरू घण्टाैँ उडान गरी हिमाल छिचोल्दै ताल क्षेत्रमा पुग्ने गर्दछन् ।
गत कात्तिक महिनादेखि नै ताल क्षेत्रमा प्रवासी चराको चहलपहल शुरु हुने गरेको स्थानीयहरु बताउँछन् । तर गर्मी हुने क्रमसँगै वैशाखदेखि भने प्रवासी चराहरू ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।
उक्त ताल क्षेत्रमा सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या सन्तोषजनक रहेको चराविज्ञ हिरुलाल डगौरा बताउँछन् । कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पन्छी अवलोकनका क्रममा पुरैनी ताल पुगेका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीन वटा सर्किटमा गुरुयोजना बनाएर काम अगाडि बढाइरहेको बताएका छन् ।
बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्याएरै छाड्ने जनाएका छन् ।