कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले नगरपालिकाको बारेमा मिडियामा नकारात्मक कुराको प्रचार भइरहेको तर आफूहरू हल्लाको पछाडि नरहेको जिकिर गरेका छन् ।

बिहीबार नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी’को समापनमा बोल्दै नगर प्रमुख रावतले पछिल्लो समयमा पालिकाको विषयमा मिडियाबाजी भइरहेका र नकारात्मक कुराहरू बढी आइरहेका भए पनि आफूहरू हल्लाको पछि नलागी आफ्नो कार्यमा निरन्तर लागि रहने बताए । नगर प्रमुख रावतले भने, “पछिल्लो समय यो नगरपालिकाले केही गरेन, अन्य पालिकाले कति धेरै काम गरी सक्यो भन्दै मिडियामा नराम्रा कुराहरूको बढी नै प्रचार भइरहेको छ । तर हामीले मिडियामा आए जस्तो केही काम नगरेको हैन थुप्रै काम गरेका छौँ । त्यस कारण हल्लाको पछाडि लाग्दैनौ ।”
मिडियाबाजी गर्दै गलत कु प्रचार गर्नेको पछाडि नलागी उल्टै त्यसलाई सुझावको रूपमा ग्रहण गर्दै अगाडि बढ्ने रावतको भनाई थियो । ‘प्रचारबाजी गरे जस्तो केही काम नगरेको भए हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको जिल्ला कार्य सम्पादन मूल्याङ्कनमा कसरी दोस्रो स्थानमा आयो ? ४२.४३ अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा परेको छ । काम नगरी परेको हैन ।’, नगर प्रमुख रावतले भने ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको जिल्ला कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका ४२.७८ अङ्क प्राप्त गर्दै पहिलो स्थानमा आएको थियो भने लम्किचुहा नगरपालिका १९.५१ अङ्कका साथ जिल्लामा अन्तिम स्थानमा परेको थियो ।

