कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खालि गर्न सूचना जारी गरेको छ।विद्यालयको नाममा दर्ता श्रेष्ता कायम रहेको कित्ता नम्बर ९७ को ८ कठ्ठा क्षेत्रफल जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको हो ।
विद्यालयको जग्गामा विभिन्न व्याक्तिहरुले पक्की संरचना नै निर्माण गरी लामो समयदेखि बसोबास गरिरहेका छन्। विभिन्न समयमा स्थानीय हरुले विद्यालयको नम्बरी जग्गा कब्जा गरी बसिरहेका हुन्। विद्यालयको यस अघिका समिति र प्रशासनले यस विषयलाई त्यति ध्यान दिएका थिएनन्। अहिले विद्यालयको व्यवस्थापन समितिमा खगेन्द्र हमाल केही दिन अघि मात्र अध्यक्ष चुनिएका थिए। हमालले विद्यालयको अतिक्रमित जग्गा लगायत विद्यालयलाई तिर्नु पर्ने पैसा समेत धेरै व्याक्तिहरुले नतिरेको हुँदा उक्त रकम असुल गर्ने निर्णय गरिएको बताए।
विद्यालयमा थुप्रै बेथिति छन्। कतिपयले सटरको भाडा समेत नियमित तिरेका छैनन्।कतिपयलेत तिर्दै तिरेका छैनन् यी सबै कुराहरूको हामी अध्ययन गरिरहेका छौ। यसको निष्कर्ष निकाल्छौ उनले भने।
आर्थिक वर्ष २०७६/२०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निमार्ण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निमार्ण गर्ने छात्रावास,क्यान्टिन, र थेरापी भवन बनाउनका लागी त्यहाँ निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना हटाउन विद्यालयले आग्रह गरेको छ । सूचना प्रकाशित भएको ३५ दिन भित्र सो जग्गा खाली गरी सहयोग गरिदिन विद्यालयले सबैमा आग्रह गरेको छ ।