कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा नापी कार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन नापी थालिएको हो ।
अन्य पाँच वडामा जग्गा नापी सम्पन्न गरिसकेको गाउँपालिकाको वडा नम्बर ४ नापी कार्यको अन्तिम वडा हो । शुक्रवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले नापीको शुभारम्भ गरे । “हामीले अन्य पाँच वडामा नापी गरिसकेका छौ । यो वडा नापीको अन्तिम वडा हो । अरू वडा जस्तै यो वडामा पनि विवाद सहित तरिकाले नापीको काम गराउनु हुनेछ भन्नेमा आसावादी छु । यस वडामा नापी सकिए लगत्तै लालपुर्जा निर्माण र वितरणमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।” अध्यक्ष कुँवरले भने ।
वडा अध्यक्ष जगतबहादुर शाहीका अनुसार यस वडामा १ हजार ४ सय ३० जनाले फारम भरेका छन् । नापी टोलीलाई सहयोगका लागी वडाध्यक्ष शाहीको संयोजकत्वमा सर्वदलीय, सर्वपक्षीय प्रतिनिधि सम्मिलित सहजीकरण समिति समेत निर्माण गरिएको छ । अबको एक महिनामा नापीको काम सम्पन्न गर्ने गाउँ सरकारको लक्ष्य रहेको छ ।
प्रकाशित :- २०८० पुष ६, गते शुक्रबार