जिम्मेवारीमा रहँदा दौडधुप गर्ने र नहुँदा गुमनाम हुने नेपाली राजनीतिको संस्कार नै बनेको छ । तर कैलालीका निवर्तमान सांसद झपट बहादुर रावल भने जिम्मेवारीमा नरहँदा पनि जिम्मेवारी पाए जत्तिकै सक्रिय छन् ।
उनी २०७४ सालमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा नेकपा एमाले बाटै सोही जिम्मेवारीमा दोहरिन खोजे पनि झिनो मतले पराजित भए । अहिले यो क्षेत्रबाट नागरिक उन्मुक्तिका अरुण कुमार चौधरी प्रतिनिधि सभा सदस्य छन् । जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकास र समस्या समाधानका लागी निकै सक्रिय बनेका रावल अहिले जिम्मेवारीमा नहुँदा पनि त्यत्तिकै सक्रिय देखिएका छन् ।
आफ्नो क्षेत्रका समस्या र आवश्यकता सँग परिचित उनी नयाँ योजना माग सँगै कार्यान्वयन चरणमा रहेका योजनाको अवस्था, प्रक्रिया तथा आफ्नो पालाका योजनालाई निरन्तरता दिलाउन विभिन्न मन्त्रालयहरू धाइरहेका छन् । कर्मचारी संयन्त्रमा रहेको उनको राम्रो सम्बन्धका कारण पनि यस क्षेत्रका नागरिकले उनीबाट विकासको अपेक्षा गरेका छन् । उनले सेती लोक मार्ग अन्तर्गतका पुल, सडक सुधार, निर्वाचन क्षेत्र रणनीतिक योजना तथा आवश्यक अन्य ठुला योजनाहरू माग र कार्यान्वयन गराउन सक्रिय छन् ।
केहीले विकासका मुद्दामा निवर्तमान सांसद रावल यसरी सक्रिय बन्दा वर्तमान सांसद चौधरी किन गुमनाम भन्दै प्रश्न गर्न थालेका छन् भने कतिपयले जिम्मेवारीमा हुँदा हराउने रावल जिम्मेवारी विहीन हुँदा सक्रिय बनेको आरोप समेत लगाउने गरेका छन् । वर्तमान सांसद अरुण कुमार चौधरी पनि विकासका मुद्दामा सक्रिय नै बनेको भन्दै केहीले दुवै सांसदहरूको सक्रियताले कैलाली–२ को विकासले गति लिने प्रतिक्रिया समेत दिएका छन् ।
राजनीतिक आस्था र व्यक्तिगत सम्बन्धका आधारमा उनीहरूको सक्रियताको विश्लेषण गरिए पनि कैलाली–२ को विकासको महत्त्वपूर्ण पाटो निवर्तमान र वर्तमान सांसदको आपसी समन्वय र सहकार्य नै हो । दुवै सांसदले समन्वय र सहकार्य गरी अनुभव, सम्बन्ध र जिम्मेवारीको तादात्म्य मिलाउन सके यस क्षेत्रको विकास धेरै टाढा नभएको आम नागरिकहरूको बुझाई छ ।
प्रकाशित :- २०८० पुष २, गते सोमबार