
चन्द्रागिरिबाट काठमाडौँ नियाले जस्तै कैलालीको राज काँडाबाट तराई देखि हिमाल सम्मका अनुपम दृश्यहरू नियाल्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरू लोभ्याउने विशेषता राज काँडा सँग हुँदा हुँदै पनि विकास र प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको छ । धार्मिक, पुरातात्त्विक, ऐतिहासिक सँगै कृषि उत्पादन र पशुपालनका हिसाबले पनि निकै महत्त्वपूर्ण मानिएको राज काँडामा सरकारको पहुँच अझै पुगेको छैन ।

बाइसे चौबिसे राज्य ताका धुलिकोटे राजाले राज्य सञ्चालन गरेको यो क्षेत्रलाई मालिका मन्दिर, हात्तिढुङ्गा, अदाने ओडार, भेरी र कर्णालीको सङ्गम स्थल, कर्णाली नदीका भँगालाहरू, आकर्षक देखिने सूर्योदय, अपि शैपालको सुन्दर हिमशृङखला र तराइका फाटहरुले थप सुन्दरता थप्दै पर्यटकहरूलाई आकर्षण गरिरहेका छन् ।
राज काँडाको मनोरम दृश्य सँगै अर्गानीक खानाको स्वाद र स्वच्छ हावापानीले पर्यटकलाई लोभ्याए पनि सहज सडक बाटो नहुँदा अपेक्षाकृत मात्रामा पर्यटकहरू यहाँ पुग्न सकेका छैनन् । सहज सडक मार्ग, खानेपानी, बास तथा अन्य व्यवस्थापन नहुँदा विगतमा यहाँ पुग्ने बाह्य पर्यटकहरू समेत आउन छाडेको स्थानीय तेजबहादुर खत्री बताउँछन् ।
“ठाकुरद्वारा सँगको समन्वयमा पहिला यहाँ विदेशी पर्यटक आउनु हुन्थ्यो । उहाँहरूलाई मैले नै घुमाउने गरेको थिए । तर पछिल्लो समय विदेशी पर्यटक आउन छोड्नु भएको छ । सहज सडक मार्ग अभाव तथा बस्ने खाने समस्याले पनि होला ।” उनले भने ।
महोन्याल गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने यो क्षेत्रको विकास, संरक्षण तथा प्रवर्द्धनको मेरुदण्ड भने कै सडक मार्ग हो । पर्यटन क्षेत्रको प्रचार गर्ने, निजी क्षेत्रसँग साझेदारी गर्ने, ऐतिहासिक बस्तुको संरक्षण गर्नु पर्दथ्यो । तर सरकारले आफ्ना जनताका लागी सडक मार्ग, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका क्षेत्रमा समेत चासो नदिएको स्थानीयको दुखेसो छ ।

राज काँडा सम्म सडकको ट्र्याक खोलिएको भए पनि यसको थप स्तर उन्नतिमा भने तीनै तहका सरकार बेखबर बनेका छन् । चुनावमा आश्वासन र पछि व्यवहारले दिक्क बनेका स्थानीयहरू बर्सेनि आफै सडक सुधारमा लाग्ने गरेका छन् तर त्यो पर्याप्त छैन ।
कैलालीको चिसापानीबाट ५ किलोमिटर पैदल मार्ग वा १६ किलोमिटरको सडक मार्गबाट राज काँडा पुग्न सकिन्छ । प्रकृतिको अनुपम उपहार राज काँडालाई आर्थिक उपार्जन सँग जोड्नु पर्ने आम नागरिकको भनाई छ ।