कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। निर्वाचन प्रक्रिया अन्तर्गत शनिवार मनोनयन दर्ता सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि लक्ष्मण न्युरे र डबल शाह चुनावी मैदानमा उत्रिएका छन्।
सधैं राजनीतिक खिचातानी देखिने क्याम्पस सञ्चालक समिति निर्वाचन यस पटक भने केही फरक देखिएको छ। नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा र नेपाली कम्युनिस्ट पार्टीले अध्यक्षका उम्मेदवार लक्ष्मण न्युरेलाई समर्थन गर्न सक्ने देखिएको छ।। प्रमुख राजनीतिक दलहरूको साझा समर्थन पाएमा न्युरे यस निर्वाचनमा बलियो उम्मेदवारका रूपमा देखिने छन्
दलहरूको समर्थनका कारण अध्यक्ष पदमा न्युरेको जित सुनिश्चित जस्तै देखिए पनि स्वतन्त्र उम्मेदवार डबल शाह भने दलभन्दा बाहिर रहेर मतदाताको मन जित्ने रणनीतिमा छन्। हालसम्म प्रत्यक्ष राजनीतिमा नखुलेका शाह आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवार बनेका हुन्।
उपाध्यक्ष पदका लागि डबल शाह प्यानलबाट भानुभक्त आचार्य उम्मेदवार बनेका छन् भने लक्ष्मण न्युरे प्यानलबाट आयुष जोशी मैदानमा छन्।
सञ्चालक समितिका खुल्ला तीन सदस्य पदका लागि प्रेम प्रसाद कँडेल, जनक जोशी, रमेश कुमार बस्नेत र सीता कुमारी चौधरी गरी चार जनाको उम्मेदवारी परेको छ। एक जना महिला सदस्य पदका लागि नारायणी कुमारी गौतम र राधा कुमारी पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै दुई जना दलित/जनजाति सदस्य पदका लागि मनोज कुमार सुनार, जगत बहादुर विश्वकर्मा र अमन चौधरी गरी तीन जनाले मनोनयन दर्ता गराएका छन्। लेखा समिति संयोजक पदका लागि हेमन्त शाही र भोजराज जोशीबीच चुनावी प्रतिस्पर्धा हुनेछ भने लेखा समिति सदस्य पदमा खेम ढुङ्गाना र चक्र बहादुर बमको उम्मेदवारी परेको छ।
निर्वाचन तालिका अनुसार यही पुस ९ गते मतदान हुने क्याम्पस निर्वाचनमा सर्वदलीय समर्थन पाएका लक्ष्मण न्युरे अध्यक्ष पदका लागि सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन्।


