समाचार सारांश
- • शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा कोटागढीले बौनिया बजारलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो।
बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि प्रस्तावित कोटागढी बजारले हात पारेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा कोटागढीले बौनिया बजारलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा कोटागढीका लागि बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक–एक गोल गर्दै टोलीलाई उपाधि दिलाए। यता बौनियाका लागि नृप साउँद र विकास मल्लले एक–एक गोल गरेका थिए।
सेमिफाइनलमा कोटागढी बजारले सामुदायिक शिक्षक टोलीलाई २–० ले पराजित गरेको थियो भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
विजेता बनेको कोटागढी बजारले ४५ केजीको खसी र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बौनिया बजारले २५ केजीको बोका र ट्रफी प्राप्त गरेको छ।
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा “पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागि खेल” भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जनप्रतिनिधि, पालिकाका कर्मचारी, शिक्षक, सञ्चारकर्मी, व्यापारी र स्थानीय टिम गरी आठ टोलीको सहभागिता रहेको थियो।





