कैलालीका युवा वैज्ञानिक अरुण लोहारलाई युवा प्रतिभा सम्मान २०८२ प्रदान गरिएको छ । जिल्लाको टिकापुरमा घर भई नासामा छनौट भएका उनलाई विश्व अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश युवा परिषद्ले मङ्गलवार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
उनलाई नगद १० हजार र सम्मान पत्र सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गरे । साथै उनले युवा वैज्ञानिकलाई प्रदेश सरकारको तर्फबाट नगद १ लाख सहित अन्य वृद्धि विकासमा समेत सहयोग गर्ने घोषणा गरेका छन् । “म मन्त्रीज्यू सँग कुरा गर्दै थिए । हामीले भर्खर अरुणलाई सम्मान समेत ग¥यौँ । उनलाई १ लाख नगल दिने र अन्य वृद्धि विकासमा समेत सहयोग गर्ने घोषणा म यस कार्यक्रममा गर्न चाहन्छु ।” कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले भने ।
यस्तै युवा वैज्ञानिक अरुणलाई बर्दगोरिया गाउँपालिकाले समेत एक थान ल्यापटप सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले घोषणा गरे । युवा वैज्ञानिक अरुण अमेरिका स्थित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को एक परियोजनामा नेभिगेटरका रूपमा छनौट भएका छन् ।
नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रूपमा उनी छनौट भएका हुन । उनले श्रोत साधनको अभावमा व्यक्तिगत खर्चबाट खगोल विज्ञान सम्बन्धी ७० हजार भन्दा बढी विद्यार्थीलाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


