घोडाघोडी नगरपालिका–७ कीर्तिपुरस्थित बुटका बाबा मन्दिरको प्राङ्गणमा सोमवार बिहान प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीयवासी तथा प्रहरीसहितको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडमा कार्यरत प्रहरी निरीक्षक जय पार्कीले प्रमुख वक्ताका रूपमा प्राकृतिक प्रकोप व्यवस्थापनका विविध पक्षहरूमा प्रकाश पारेका थिए। उनले बाढी, डुबान, भूकम्प, आगलागी लगायतका सम्भावित प्राकृतिक प्रकोपहरूको पूर्वतयारी, जोखिम न्यूनीकरण तथा विपद्पछिको सहजीकरण र उद्धारका उपायबारे सहभागीहरूलाई जानकारी गराए।

उनले स्थानीय तह, सुरक्षाकर्मी र समुदायबीचको समन्वयलाई सुदृढ गर्दै विपद्को समयमा जोखिम न्यून गर्ने अभ्यासमा जोड दिनुपर्ने बताए। साथै, उनले आम नागरिकले अपनाउन सक्ने व्यवहारिक उपायहरूमार्फत दैनिक जीवनमै विपद्को जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा समेत स्पष्ट पारे।
कार्यक्रमले सहभागीहरूलाई विपद्प्रतिको तयारी, चेतना र सहकार्यको महत्त्व बुझाउन मद्दत गरेको सहभागीहरूको धारणा थियो। यस किसिमका कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध थप मजबुत हुनुका साथै स्थानीय तहमा सुरक्षित समाज निर्माणतर्फ सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।



