कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका–१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको हो। उनलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार अर्का दिपु कठरिया घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को मोटरसाइकल (से ७ प ७०८९) का चालक उदय भाट, २५ वर्षीय, लम्कीचुहा नगरपालिका–४ का निवासी र पछाडि सवार गौरव भाट पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।


