कैलाली र कञ्चनपुरका स्थानीय तहमा सडक निर्माणको कार्य सम्पन्न गरेको एक कम्पनीले भुक्तानी पाएको छैन् । क्षेत्रीय सहरी विकास अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा सडक निर्माण गरेको थियो । जसमा कम्पनीले १३ करोड ४३ भुक्तानी पाउन सकेको छैन।
नेपाल सरकारले चालु आर्थिक वर्षका लागि ५० लाखका दरले मात्र बजेट विनियोजन गरेपछि निर्माण कम्पनीलाई काम गरेको भुक्तानी दिन समस्या भएको जनाइएको छ । चालु आर्थिक वर्षका लागि २ करोड मात्र बजेट विनियोजन गरिएका बेला निर्माण कम्पनीले भने भुक्तानीका लागि १३ करोड ४३ लाखको बिल पेस गरेको हो ।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले १३ करोड ४३ लाखको बिल पेस गरेको बताएका छन् । तर, भुक्तानीका लागि आयोजना कार्यालयसँग बजेट अभाव रहेको उनले बताए। ‘हाम्रो काम सकियो, ९७ प्रतिशत काम पूरा भएको छ,’ उनले भने, ‘असारबाट भुक्तानी भएको छैन् । नेपाल सरकारसँग पैसा रहेन छ । १३ करोड ४३ लाखको बिल पेस गरेका छौं । सहरीमा बिल बसेको छ । ५० लाख मात्र रहेछ । ५० लाख लिँदैनौ भनेका छौं ।’
क्षेत्रीय सहरी विकास अन्तर्गत कैलाली र कञ्चनपुरका चार स्थानीय तहमा सडक निर्माण गरेको कालिका कन्स्ट्रक्सले भुक्तानी पाउन नसकेको हो।
क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा १०, गोदावरीमा १६ र कञ्चनपुरको शुक्लाफाँटामा ८ तथा भीमदत्तमा १४ किलोमिटर सडक कालोपत्रे गरेको उक्त कम्पनीले भुक्तानी भने समयमा पाउन सकेको छैन्। सडक निर्माणको काम अन्तिम चरणमा पुगेका बेला निर्माण कम्पनीलाई भुक्तानी पाउन समस्या भएको हो । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा निर्माण गरिएका सडकको भुक्तानीका लागि बजेट अभाव भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकालाई ५० लाखका दरले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले गत वर्ष बजेट फिर्ता गएको बताए। ‘चार वटैको भुक्तानी बाँकी छ। पोरसाल पूरा पैसा थियो। उहाँहरुले काम गर्नु भएन,’ उनले भने, ‘बजेट फिर्ता गयो। यो पटक बजेट छैन।’
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलको टुङ्गो लगाउन समय लागेपछि सडक निर्माणको काम पनि ढिलो भएको हो। विद्युतका पोल, सडक बत्ती, खानेपानीका पाइप लगायतको विवादमा समेत समय लागेकाले सडक निर्माणको काममा ढिलाइ भएको हो ।
चारवटै स्थानीय तहमा सडक निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले सडक रङ्रोगन तथा मर्मतको काम अझै गर्न बाँकी छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि खरेलले काम पूरा भएको बताए। ‘बजेट ल्याउनु पर्ने छ। बजेट आएको छैन्,’ उनले भने, काम डिएलपीमा गएको छ। रकम भुक्तानीका लागि समय थप गर्नुपर्ने पनि हुन सक्छ ।’
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको १ दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म-चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक-जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट-चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी-खुटिया-स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र १ दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्र गरिएको छ ।