गत भदौ ३ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले २५ लाख भन्दा कम बजेटको योजना नल्याउने घोषणा गरेका थिए । तर सोमबार प्रदेश सभामा पेश गरिएको बजेट वक्तव्यमा भने सरकारले ५ लाख र १० लाखका योजना ल्याएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत साढे ११ सय योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये साढे ८ सय योजनामा २० लाख भन्दा कम बजेट विनियोजन गरिएको छ । कृषि मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने अधिकांश योजनामा पनि २० लाख भन्दा कम बजेट राखिएको पाइएको छ ।
मुख्यमन्त्री शाहले गत भदौ ३ गते पत्रकार सम्मेलन गरेर सरकारले यो पटक २५ लाख भन्दा कम बजेट भएका योजना नल्याउने घोषणा नै गरेका थिए । बजेट निर्माणको चार बुँदे अवधारणा सार्वजनिक गरेका मुख्यमन्त्रीले बजेट ल्याउँदा कृषि मन्त्रालय अन्तर्गतका कार्यक्रमको हकमा भने टुक्रे योजनामा समेत बजेट विनियोजन गरिएको पाइएको हो ।
बजेटमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कूल १ हजार १ सय ४८ योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये ४ सय ५२ योजनामा ५ लाखका दरले बजेट विनियोजन गरिएको छ । यस्तै ४ सय १४ योजनामा १० लाखदेखि २० लाख बजेट विनियोजन गरिएको छ । यी ४ सय १४ योजनामा १५ लाख र २० लाख बजेट भएको योजनाको सङ्ख्या न्यून छ भने अधिकांश योजनामा १० लाख र १२ लाख बजेट राखिएको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभामा पेस गरेको चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत कम्पनी, फर्म र सहकारीमा बजेट नदिने घोषणा गरेको थियो ।
चालू आर्थिक वर्षमा कृषक समूह, मासु पसल, डेरी पसल, मिट मार्ट, कुखुरा फार्म, भैंसी फार्म, बङ्गुर फार्म, कालिज फार्म र सहकारीहरूलाई अनुदान रकम वितरण गर्ने कार्यक्रम राखिएको छ । यी कार्यक्रमका लागि ५ लाख र बढीमा ८ लाख बजेट विनियोजन गरिएको छ । कृषि मन्त्रालय अन्तर्गतका योजनामा व्यक्ति विशेषलाई सोझै लाभ हुने कार्यक्रम निर्माण गरिएको छ ।


